चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए ।
‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ’ उनले भने ।
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन’ नेता कोइरालाले भने ।