काठमाडौं । फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा अभिनय रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।
२०७५ सालमा प्रदर्शनमा आएको व्यवसायिक तथा समिक्षागत हिसाबले सफल फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा ‘प्रसाद २’ बन्न लागेको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
यसअघि ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेल निर्देशन नगर्ने राउतको निर्णयलाई सम्मान गर्दै निर्माण टिमले सुदर्शनलाई निर्देशनको जिम्मेवारी सुम्पेको हो ।
सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट मेडिकल व्यवसायी केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन् । निर्माता सुभाष थापासँग पाण्डेले फिल्मको निर्माणमा साझेदारी गरेका हुन् ।
कार्यक्रममा बोल्दै पाण्डेले कर्पोरेट क्षेत्रले फिल्ममा लगानी गर्दा यो क्षेत्रको व्यवसायिकता माथी उठ्ने भन्दै लगानी गर्न तयार भएको बताए ।
यसै साताबाट फ्लोरमा जाने फिल्म कास्की जिल्लामा खिचिनेछ । फिल्मलाई तिहारमा दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।
Leave a Reply