धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशनको बैठक सुचारु गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न ८ असारमा प्रदेशसभाको बैठक बोलाइएको थियो तर प्रदेशसभा सदस्यहरुको विरोधका कारण बैठक बस्न नसकेपछि १२ गतेका लागि सारिएको थियो ।
प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको अडान कायमै राखेपछि बिहीबारका लागि बोलाइएको बैठक तेस्रो पटक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
Leave a Reply