काठमाडौं । नागरिकतादेखि विभिन्न सरकारी कागजात नक्कली बनाई सात करोडको जग्गा आफ्नो नाममा ल्याएर विक्री गरी ठगी गर्ने महावीर चन्दसहित चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उजुरी परेको तीन दिनभित्रै चन्दसहितका मतियारहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गापा-७, दार्चुला घर भई हाल टोखा नगरपालिका-८ काठमाडौं बस्ने ५६ वर्षीय चन्द, थकनी गाविस-३ परिवर्तित मेलम्ची नपा-४ सिन्धुपाल्चोक घर भई हाल सुनाकोटी ललितपुर बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, साबिक नेले गाविस-४ हाल परिवर्तित थुलुङ दुधकोशी गापा-१, सोलुखुम्बु घर भई बुढानिलकण्ठ नपा-२ भंगाल काठमाडौं बस्ने ४० वर्षीय बाबुराम कार्की, साविक दाङसिङ गाविस-८ हाल परिवर्तित तारकेश्वर गापा-१, नुवाकोट घर भई हाल बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र साविक काभ्रेस्थली गाविस-६ हाल परिवर्तित तारकेश्वर नपा-२, काठमाडौं घर भई हाल बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् ।
चन्दले नक्कली तारानीधि बनी शान्तादेवी लोहनीको जग्गा आफ्नो नाममा नामसारी गरी ३ करोड ७० लाखमा विक्री गरेका थिए । असार १ गते भरतपुर चितवनबाट पक्राउ परेका खनाल भने खरिद कर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापन गर्ने मुख्य योजनाकार रहेको सिआईबीले जनाएको छ । चितवनबाटै पक्राउ परेका कार्कीले नक्कली कागजातहरु बनाउने, मिलाउने र मालपोत समन्वय कर्ता रहेको खुलेको छ ।
त्यसैगरी बनस्थलीबाट असार १ गते पक्राउ परेका खनाल र श्रेष्ठको भूमिका भने खरिद कर्ता खोज्ने विचौलिया भएको खुलेको सिआईबीले जनाएको छ ।
यसरी खुल्यो चन्दको किर्ते ठगी धन्दा
विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी शान्ता देवी लोहनीले २०६१ साल माघ १३ गते किर्तीपुर नगरपलिका, वडा नं २ स्थित रहेको कि।नं ३४४ को क्षे।फ। ३६१।९५ वर्गमिटर भएको जग्गा खरिद गरिन् । जग्गा आफ्नो नाममा नामसारी गरेर जापान गएकी उनी एक महिना अघि अर्था २०७९ जेठ ५ गते पुनस् नेपाल आइन् । नेपालमा आएको बेला बायोमेट्रीक प्रणाली मार्फत अभिलेखन गर्न भन्दै उनी जेठ १३ गते मालपोत कार्यालय कलंकी पुगिन् ।
त्यसपछि बल्ल उनलाई थाहा भयो कि आफ्नो नामको जग्गा त अर्कैको नाममा नामसारी भइसकेको रहेछ । सक्कल पुर्जा देखाई बायोमेट्रीक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कंलकीले २०७७ पुस १५ गते नै सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भई उनको श्रीमान तारानिधि लोहनीको नाममा गएको जानकारी गरायो । तब उनी झसंग भईन् । जबकी उनी आफू जिउँदै छिन् र आफै मालपोत पुगेकी छन् ।
त्यतिमात्रै होइन् त्यो जग्गा त तारानिधि लोहनीको नामबाट पनि २०७७ फागुन १० गते विक्री भइसकेको तथ्यांक मालपोतमा छ । महावीर चन्द आफै नक्कली तारानिधि बनेर उक्त जग्गा सुनिता कर्माचार्यको नाममा विक्री गरिसकेको अहिले आएर खुलेको छ ।
चन्दले नक्कली नागरिकता बनाई आफू तारानिधी लोहनी बनेर श्रीमती शान्ता देवी लोहनीको २०७७ भदौं १३ गते कालगतिले मृत्यु भएको र निजको शेषपछिको हकवाला आफै भएको भनी शान्ता देवी लोहनीको किर्ते मृत्यु दर्ताको प्रमाणपत्र, नाताप्रमाणितको प्रमाणपत्र, तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई सोही किर्ते कागजात मालपोत कार्यालय, कलंकीमा पेश गरी जग्गा आफ्नो नाममा नामसारी गरेका थिए । किर्ते कागजात पेश गरेर जग्गा आफ्नो नाममा ल्याउन सफल चन्दले भक्तपुरकी सुनिता कर्माचार्यलाई तीन करोड ७० लाखमा उक्त जग्गा २०७७ फागुन ११ गते नै विक्री गरिसकेका थिए ।
सम्बन्धित जग्गा धनी सक्कल लालपुर्जा बोकेर मालपोत जाँदा मृत्यु भइसकेको भनेर आफ्नो जग्गा अर्कैको नाममा नामसारी भएको पाएपछि शान्तादेवी लोहनीले चार दिन अघि मात्रै सिआईबीमा उजुरी दिएकी थिइन् । तत्कालै अनुसन्धान थालेको सिआईबीले चार दिनभित्रै उनीहरुललाई पक्राउ गरीसकेको छ ।
महावीर चन्दले विभिन्न आपराधिक कार्यमा प्रयोग गर्नका लागि आफ्नो नाम तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङ उल्लेख गरिएको ४२५६/४०७ नं भएको किर्ते नागरिकताको प्रमाण पत्र बनाई सात करोड बारबरकोको जग्गा किर्ते गरी ठगी गरेको खुलेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।
चन्दको समूहले विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गाहरु बिभिन्न किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनिहरु समेत खडा गरि विक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी गरेको समेत खुलेको सिआईबीले जनाएको छ ।
सीआईबीको टोलीले विभिन्न व्यक्तिहरुका नाममा जारी गरिएका नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान-४, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी थान-१, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, ना.प्र. प. को छाँयाकपी जग्गा धनि पुर्जाको छाँयाकपी थान-७, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनि दर्ता श्रेस्ता पुर्जा तथा जग्गाको नक्साको छायाँकपी थान-१२, विभिन्न व्यक्तिहरुको अटो तथा पासपोर्ट साइजको फोटो थान-६० , विभिन्न कम्पनीका मोबाइल सेटहरु थान-१४ र विभिन्न सेवा प्रदायकहरुको सिम कार्ड थान-२९ (तारानिधिको नामको सिम समेत) बरामद गरेको जनाएको छ ।
Leave a Reply