Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षमानको निर्देशन : माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौँ‍, नमुना बनाऔँ

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएको छ ।

पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले पार्टीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्षरउपाध्यक्षलाई यस्तो निर्देशन दिएका हुन् ।

संविधानले नेपाललाई समाजवाद उन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनको निर्देशन थियो।

‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवास लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो। यसमा हामी स्पष्ट हुनुपर्छ।’

उनले तीनवटै सरकारले संविधानको मर्मअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभूताको ग्यारेण्टी गर्ने गरी काम गर्नुपर्ने स्पष्ट गरे।

पुनले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए ।

जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरूलाई बल पुग्नेगरी भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिए।

पुनले भने, ‘कम्तीमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौँ। हामीले चलाएका पालिकाहरूलाई कुनै न कुनै काममार्फत् नमुना बनाऔँ।’

तर, सस्तो लोकप्रियताका लागि राज्य श्रोतको परिचालन नगर्न जनप्रतिनिधिलाई उनले सुझाए। स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077