काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरिएका बताएका हुन् ।
'राजश्वको दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रिया छन् । प्रक्रियाका कुरा अस्ति पनि बताएको थिए । त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु ।
उनले थपे त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु,' उनले थपे, 'यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको डलरको सञ्चितिलाई आयातलाई ध्यान दिएर हामीले उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई ध्यान दिएर नै दरहरू परिवर्तन भएको स्पष्ट गर्न चाहन्छु ।'
अर्थमन्त्री जवाफ दिन रोष्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरिरहेको छ । एमालेले सदन बहिष्कार गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।