काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य स्थगित भएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भएको हो ।
८ घण्टादेखि सम्पर्कविहीन जहाजको खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ ।
तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोली परिचालन हुने उनले बताए । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।
मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो ।
तर, आजलाई थप उद्धार कार्य गर्न सम्भावना नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए । जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ ।
Leave a Reply