Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ‘कन्सल्टेन्सी सञ्चालकले बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरे’

    ‘कन्सल्टेन्सी सञ्चालकले बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरे’

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मिस ग्लोबल-२०१४ मा सहभागी एक प्रतियोगीले पाण्डे थर भएका एक कन्सल्टेन्सी सञ्चालकले आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी छन्।

    उक्त कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।



    मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।



    उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।

    ‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,’ उनले भनेकी छन्, ‘अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।’

    यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डे थरका ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

    बिहान घर जाने बेलामा ती व्यक्तिले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छुु भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।

    पाण्डे थरका ती कन्सल्टेन्सी सञ्चालकले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।

    उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।

    आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।

    यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।

    उनले मोडल र अभिनेत्री बन्न चाहने नयाँ पुस्ताका किशोरी तथा युवतीलाई मान्छेहरू भेट्न जाँदा सुरक्षित भएर जान, एक्लै नजान सुझाएकी छन्।

    आफूसँग भएका सबै प्रमाण आफूले धेरैपछि डिलिट गरिदिएकाले आफूलाई बलात्कार गर्ने ती व्यक्तिको थर मात्रै सार्वजनिक गरेको उनले भिडिओमा बताएकी छन्। यो घटनाबारे थाहा भएर पनि धेरैले आफूलाई सहयोग नगरेको उनले भिडिओमा भनेकी छन्। आफूमाथि भएको बलात्कारबारे बताउँदा पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘तिम्रो समस्या हो’ भन्दै बेवास्ता गरेको युवतीले बताएकी छन्।

    यता  माल्भिका गल्ती स्वीकार्दै क्षमायाचना गरेकी छन् । आफूलाई ती युवतीले फोन गरेर सहयोग मागेको माल्भिकाको स्वीकारोक्ति छ ।उनले लेखेकी छन्, ‘म कुनै बहानाबाजी गर्दिनँ । मलाई पूरा विवरण याद छैन । तर, यो सम्झिएकी छु कि तिमीले मलाई कल गरेकी थियौ र दुर्व्यवहार गरिएको विषयमा कुरा गर्न खोजेकी थियौ । तर, ‘बलात्कार’ शब्द नै प्रयोग गरेको याद छैन । म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ । यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन । तर, म तिमीलाई यो थाहा दिन चाहन्छु कि मैले तिम्रो कुरा राम्ररी नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु । तिमीले मसँग रिसाउने सबै कारणहरु छन् र मैले जेजस्तो घृणाहरु पाइरहेकी छु, त्यसको म हकदार छु ।’

    माल्भिकाका अनुसार ती युवती अफेयरमा रहेको उनले हल्ला सुनेकी थिइन् ।

    उनले लेखेकी छन्, ‘मैले महसुस गर्नुपर्थ्यो कि जब मैले हल्लाहरु ९उनीहरु अफेयरमा छन् भन्ने० सुन्न थालेँ, त्यसबेला तिमी केवल १६–१७ वर्षकी थियौ । मैले आयोजकहरुसँग कुरा गर्नुपर्थ्यो र दृढ अडान लिनुपर्थ्यो । तर, मैले त्यसो नगर्ने निर्णय लिएँ ।’

    उनले त्यसबेला आफ्नो मानसिक स्वास्थ्य राम्रो अवस्थामा नरहेको उल्लेख गरेकी छन् । यद्यपि यसलाई बहाना नबनाउने माल्भिकाको भनाइ छ ।

    ‘म आफै डिप्रेसनसँग लडिरहेको थिएँ, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो केसमा संलग्न नहुने निर्णय लिएँ । अहिले मैले महसुस गरेको छु कि यदि म संलग्न भएको भए मेरो मानसिक स्वास्थ्यलाई थोरै असर पर्थ्यो होला । तर, उनको लागि ठूलो मद्दत हुन्थ्यो । मैले त्यो समयमा आफूसँग त्यस्तो क्षमता रहेको महसुस गर्न सकिनँ ।’

    अब आफूले आफैलाई पहिलेको नजरमा हेर्न नसक्ने उनले बताएकी छन् । ‘तिम्रो पोष्टहरु हेरेपछि सबै कुराका लागि म जिम्मेवार छु भन्ने महसुस भएको छ र मैले आफूलाई कहिल्यै माफी दिने छैन’, माल्भिकाले भनेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार