काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रले जित हाँसिल गरेको छ । नौगाड गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका हुन् भने खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी हुन् ।
नौगाड गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । मतगणना परिणामअनुसार धामिले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्ष निर्वाचित ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरिदेवी ठगुन्ना २ हजार ८ सय ६७ मत ल्याएकी थिइन् ।
यता, खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई पालिका अध्यक्षमा विजयी भइन् । राई २ हजार ८ सय ८१ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शंखरबहादुर राईलाई ३ सय ६ मतान्तरले पराजित गरेकी हुन् । पराजित शंखरबहादुर राईले २ हजार ५ सय ७५ मत ल्याएका छन् ।
त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका खेमबहादुर खड्काले २ हजार ८ सय १२ मत ल्याई पालिका उपाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला राईले २ हजार ४ सय ९५ मत ल्याएकी छन् ।
म्याग्दीको मालिकामा अध्यक्ष र उपाध्यक्ष नै एमाले
म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक मतपरिणामअनुसार पालिका अध्यक्षमा एमालेका वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुनः विजयी भएका छन् ।
एमालेका वेगप्रसाद गर्वुजाले ३ हजार ९१ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत पाए । नवनिर्वाचित गर्वुजा ०७४ सालको निर्वाचनमा रोकाबाट पराजित भएका थिए ।
Leave a Reply