काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको अन्तिम दिन रहेको छ । प्रमुख राजनीतिक दलका अधिकांश उम्मेदवारले मनोनयनपत्र दर्ता गराउँदै छन् ।
आइतबार पहिलो दिन न्यून मात्रामा मनोनयनपत्र दर्ता गरिएको छ । प्रमुख दलले उमेदवार टुंगो लगाउन ढिलाइ गर्दा अधिकांश मनोनयनपत्र दर्ता अन्तिम दिन हुने भएको हो ।
यद्यपि, पहिलो दिन पनि देशका विभिन्न पालिकामा केही राजनीतिक दल र स्वतन्त्रबाट मनोनयनपत्र दर्ता गराइएको छ ।निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।
पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।
पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन् ।
आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ ।
Leave a Reply