Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्री शर्मालाई धक्का, पृथ्वी शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्चले गर्यो अस्वीकार

काठमाडौँ । पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि शाहले गत साउन १२ मा दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थालेको थियो ।

साथै राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च अदालत पुगेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले शाहको खाता फूकुवा गर्न राष्ट्र बैंकलाई दवाव समेत दिएका थिए ।

गतवर्षको असार र साउनमा गरी विभिन्न ६ वटा रिट निवेदनमार्फत शाहले सर्वोच्च अदालतमा राष्ट्र बैंकको निर्णयलाई चुनौती दिएकोमा गत वर्षकै साउन २४ मा सर्वोच्च अदालतले पाँच निवेदनमाथि अन्तरिम आदेश नदिने निर्णय गरेको थियो ।

बाँकी एउटामाथि सोमबार सुनुवाइ भएको हो । त्यसमा समेत सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब शाहका खाता र कारोबारमाथि भइरहेको अनुसन्धान नरोकिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077