एजेन्सी। रुसको रक्षा मन्त्रालयले मोस्कभा जहाजमा राखिएको गोलाबारुद आगलागीका कारण क्षतिग्रस्त भएको र त्यसलाई बन्दरगाहमा ल्याउन लागिएको तर बाटोमै डुबेको जनाएको छ ।
योसँगै युक्रेनले यो युद्धपोतलाई नेप्च्युन मिसाइलले आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले नाम न छाप्ने सर्तमा अमेरिकी सञ्चारमाध्यमलाई युक्रेनको दाबीमा विश्वास गरेको बताएका छन्।
यो रूसी युद्धपोतमा ५१० नौसेना कर्मचारीहरू तैनाथ गरिएको थियो। यो जहाजले समुन्द्री मार्गबाट युक्रेन विरुद्धको अभियानको नेतृत्व गरिरहेको थियो। यस कारण जहाज एक महत्त्वपूर्ण सैन्य र प्रतीकात्मक लक्ष्य थियो।
मोस्कभा डुब्नु अघि, रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘जहाजमा गम्भीर क्षति पुगेको र सबै मरीनलाई उद्धार गरिएको भनेको थियो।
बिहीबार दिउँसो रुसी रक्षा मन्त्रालयले जहाजमा आगो लागेको र त्यसलाई बन्दरगाहमा ल्याइएको बताएको छ ।
यसपछि अर्को विज्ञप्ति जारी गर्दै समुद्रमा आँधी जस्तो अवस्थाका कारण जहाज डुबेको बताएको थियो । बन्दरगाहमा ल्याउँदा जहाजको संरचनामा क्षति पुगेकाले सन्तुलन बिग्रिएको विज्ञप्तिमा उल्लेख छ ।
अन्तमा, रुसले जहाज डुब्नुको कारण गोला बारुदमा आगोलाई दोष दियो र कुनै मिसाइल आक्रमणको उल्लेख गरेन।
तर युक्रेनले यो युद्धपोत डुबेको जिम्मेवारी लिएको छ । युक्रेनमा बनेको नेप्च्युन मिसाइलले यो जहाजलाई निशाना बनाएको दाबी गरिएको छ ।
जहाज डुब्नुअघि युक्रेनी अधिकारीहरूले फेसबुक पोस्टमा युद्धपोतमा विस्फोट र खराब मौसमका कारण युद्धपोतका चालक दलका सदस्यहरूलाई बाहिर निकाल्न गाह्रो भएको बताएका थिए।
गत शुक्रबार अमेरिकी अधिकारीहरूले पनि उक्त जहाजमा युक्रेनबाट आएका दुईवटा नेप्च्युन मिसाइलले आक्रमण गरेको बताएका थिए। यद्यपी यस हमलामा कति जना घाइते भएका छन् भन्ने जानकारी दिइएको छैन । रुसले अहिलेसम्म कुनै पनि मरीनको मृत्यु भएको स्वीकार गरेको छैन ।
बीबीसीले यी दावीहरूको पुष्टि गर्दैन।
शनिबार, रुसी रक्षा मन्त्रालयले मोस्कभा जहाजका चालक दलका मरीनहरूको भिडियो फुटेज जारी गरेको थियो। यस भिडियोमा सिपाहीहरू क्राइमियाको सेभास्टोपोल सहरमा परेडमा भाग लिइरहेका देखिएका छन्। – बिबिसी हिन्दीको सहयोगमा
Leave a Reply