Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • बोक्सी लागेको भन्दै बन्दी बनाएर तातो फलामको रडले हान्दा महिलाको मृत्यु, धामी–झाँक्रीसहित ७ जना प्रहरीको नियन्त्रणमा

    बोक्सी लागेको भन्दै बन्दी बनाएर तातो फलामको रडले हान्दा महिलाको मृत्यु, धामी–झाँक्रीसहित ७ जना प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। बेतकोट नगरपालिका–६ की ४३ बर्षीय रञ्चुली साउँदको शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको हो।

    घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जनाकारी दिए।



    उनका अनुसार पक्राउ पर्नेमा लामो समयदेखि मृतक महिलाको उपचार गर्दै आएका मुख्य धामी भीमदत्त नगरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट, बेतकोटकै सहायक धामी भएर मृतक महिलाको उपचार गरेकी कमला साउँद, अर्को धामी भीमदत्त नगरपालिका–७२ बर्षीय नारायणदत्त भट्ट रहेका छन्। यस्तै, अन्य ४ जना उनकै साउँद परिवारका रहेका छन्।



    उपचारको क्रममा धामी कमलाको घरमा रञ्चुलीको मृत्यु भएको थियो। उनीहरूले बिहीबार मृत्यु भएको भने पनि शव कुहिएको अवस्थामा हुँदा केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको भनाइ छ। कहिले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान जारी रहेको डिएसपी शाहले जानकारी दिए।

    प्रहरीका अनुसार मृतक महिला केही समय अगाडिदेखि बिरामी थिइन्। उनको उपचार धामीझाँक्रीबाट भइरहेको थियो। उनीहरूले बिरामीलाई ठिक पार्ने आश्वासन घर परिवारलाई दिँदै आएका थिए।

    स्थानीयले भने महिलाको मृत्यु धामीझाँक्रीको कुटपिटबाट भएको हुनसक्ने प्रहरीकहाँ बयान दिएका छन्।

    कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले भने धामीको कुटपिटकै कारण महिलाको मृत्यु भएको पाइएको बताएका छन् । उनले भनेका छन्–‘धामी झाँक्रीहरुले भूतप्रेत, बोक्सी लागेको भन्दै फलामको डन्डा आगोमा तताएर कुटपिट गर्दागर्दै वैशाख १ गते नै मृत्यु भएको रहेछ तैपनि उनीहरु हामी जिउँदो बनाउँछौँ भनेर झारफुक गरिरहेकै रहेछन् ।’

    पुजाराले मृतकको नाक मुखसहित शरीरका विभिन्न भागमा चोट पटक रहेको बताए । उनका अनुसार मृतक एकल महिला हुुन् । उनका दुई छोरी छन् । कमला साउद उनकी जेठानी हुन् ।

    चैत २७ गते साँझ जेठानी साउदको घरमा आएकी रञ्चुलालाई एउटा कोठामा बन्दी बनाएर बोक्सी भगाउने भन्दै भीमदत्त नगरपालिकाबाट आएका दुई जना धामी झाँक्रीले उनलाई कुटपिट गरेको वडा सदस्य पुजाराको भनाइ छ । उनीहरुले मृतकका छोरीहरुलाई उक्त कोठामा प्रवेश गर्न नदिएको पाइएको छ ।

    रन्चुला २७ गते साँझ कामबाट फर्किएपछि पेट दुुखेकाले कमलाको घरमा धामी झाँक्री आएको थाहा पाएपछि त्यहाँ पुगेको उनकी छोरी सरिताले बताइन् । सोही दिन नै रन्चुलाको हत्या भएको स्थानीयको दावी छ ।

    मृतककी छोरी सरिताले पनि ‘थारुको भूुत, बोक्सी लागेको छ मन्त्र पढ्नुपर्छ भनेर आमालाई एउटा कोठामा थुुनेर राखियो । हामीलाई त्यहाँ जान दिइएन’ भनेर प्रहरीसमक्ष बयान दिएकाले २७ गते नै रन्चुलाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै मृतकको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार