काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबारको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाट प्रदान गरे ।
गृह मन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएकोमा उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिए ।
उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Leave a Reply