काठमाडौं । मोरङको लेटाङमा मारिएको प्रहरी जवान उर्मिला श्रेष्ठलाई गोली लागेको पुष्टि भएको छ ।
सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो ।
पोष्टमार्टम रिपोर्टमा उनको घाँटीमा गोली लागेको देखिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। चैत ६ गते मोरङको लेटाङमा विद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको विषमा प्रहरी र स्थानीयबीच हिंसात्मक झडप भएको थियो। गाउँलेको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
यसअघि धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको बताइए पनि रिपोर्टपछि गोली लागेको पुष्टि भएको एसपी जिसीले बताए। श्रेष्ठको शरीरमा गोली समेत फेला परेको छ।
उक्त गोली प्रहरीले चलाएको नभएको दाबी गरेको छ। पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।
Leave a Reply