काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् ।
सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए ।
‘केन्द्रले पोलिसीगत विषय समेटेर घोषणापत्र बनाउँदै छ, स्थानीय तहले त्यसमा टेकेर स्थानीय आवश्यकतासमेत समावेश गरी स्थानीय घोषणापत्रसमेत बनाउन सक्नेछन्, त्यो अधिकार कांग्रेस केन्द्रले स्थानीय तहलाई दिएको छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने । राजधानी दैनिकबाट
Leave a Reply