एजेन्सी । गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ ।
राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गर्ने प्रयास गरेका हुन् ।
गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको बताइएको छ । प्रहरीसँगको झडपमा एकजना गम्भीर घाइते भएको र कयौँ मानिस पक्राउ परेका खबरमा उल्लेख छ ।
निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा थिए । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् ।
दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ ।
Leave a Reply