काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।
‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने । उनका अनुसार देशैभरीको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।
उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।
जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भाेलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।
Leave a Reply