काठमाडौं । एक जना महिला प्रहरीको ज्यान जाने गरी प्रहरी र सर्वसाधारणबीच हिंसात्मक झडप भएको लेटाङ नगरपालिका ५ खेरुवामा जारी कर्फ्यू आदेश खुकुलो बनाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सिमानाभित्र अनिश्चितकालीन कर्फ्यू जारी राख्ने निर्णय गरेको हो । मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित कर्फ्यू जारी राखेको हो ।
मोरङ प्रशासनको नयाँ निर्णय अनुसार अब बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यू खुकुलो हुनेछ।
लेटाङमा एक शिक्षकले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको घटनापछि उत्पन्न तनाव र झडपमा आइतबार एक महिला प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा आक्रोशित भिडमा सहभागी एकले धारिलो हतियार प्रहार गरेका थिए। उर्मिलाको उपचारका लागि बाटो लैजाँदै गर्दा मृत्यु भएको थियो।
घटनामा एसपीसहित २८ प्रहरी घाइते भएका थिए । त्यसक्रममा जिल्ला प्रशासन कार्यालयले सोमबार र मंगलबार पूर्ण रूपमा कर्फ्यू आदेश लगाएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । भने यौन दुर्व्यवहार आरोप लागेका शिक्षक प्रहरीको हिरासतमा छन् ।
Leave a Reply