Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एमाले अब एमाले रहेन, ‘बी’ माले, ‘सी’ माले भन्नुस् : नेपाल

    एमाले अब एमाले रहेन, ‘बी’ माले, ‘सी’ माले भन्नुस् : नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.4K
    SHARES

    गोरखा । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको भन्दै सूर्यमा ग्रहण लागिसकेको बताएका छन् ।

    गोरखामा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले भने–‘एमाले अब एमाले रहेन । ‘बी’ माले, ‘सी’ माले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।’



    एमाले र माओवादी केन्द्र एकता भई २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताएका उनले केपी शर्मा ओली एमालेको अध्यक्ष भएर पार्टीलाई दुरुपयोग गरेको पनि बताए ।



    कार्यक्रममा उनल भने–‘मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो ।’

    एकीकृत समाजवादीको महत्व जनताले बुझिरहेको बताउँदै उनले नेकपा एस अहिले सुदूरपश्चिम र मधेस प्रदेशमा सबैभन्दा ठूलो रहेको तथा प्रदेश १ र बागमतीमा सरकारको नेतृत्वमा रहेको पनि बताए ।

    कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्नका लागि निर्देशन दिएका अध्यक्ष नेपालले अब पार्टीलाई देशव्यापी बनाउनका लागि निस्वार्थ भावनाका साथ लाग्न आग्रह गरेका थिए । उनले पार्टी खोल्नै सक्दैनन् भन्नेहरूलाई जवाफ दिनुपर्ने पनि बताए ।

    उनले भने–‘नयाँ पार्टी खोल्नै सक्दैन, केपी ओलीसँग टक्कर लिन सक्ने यो धरतीमा कोही छैन भन्ने थियो ।’ २०३२ सालको कोअर्डिनेसन केन्द्र, त्यसपछि माले र २०४७ सालमा एमाले जन्माउने आफू भएको बताए ।

    २०७५ मा नेकपा भएको र त्यसलाई पार्टीभित्र विवाद उत्पन्न भएपछि ओलीले प्रधानमन्त्री पदको दुरुपयोग गरेर विभाजन गरेको उनले आरोप लगाए । उनले भने–‘२०७५ जेठ २ गते जन्मेको नेकपा २०७७ फागुन २३ गतेको फैसलाबाट मिलिसकेको पार्टी पनि एकता हुँदैन भनेर केपी ओलीको षडयन्त्रको कारणले गर्दा फुट्यो ।’

    ओली २०७४ सालको चुनावमा माओवादी केन्द्रका अध्यक्षसँग मिलेर पहिलो दलको नेता बनेको नेपालको भनाइ थियो । उनले भने–‘उनले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजे ।’ ओलीको कार्यशैली गलत भएको र एमालेमा बस्न सक्ने अवस्था नरहेकाले विद्रोह गर्नुपरेको उनको भनाइ थियो ।

    कार्यक्रममा उनले एमसीसी सम्झौतामा सैन्य गठबन्धनको कुरा जोड्ने काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको दावी गरे ।

    एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र ओली मिलेर जस्ताको त्यस्तै पारित गर्न खोजेको तर एकीकृत समाजवादीको पहलमा ब्याख्यात्मक घोषणा भएको नेपालको भनाइ थियो ।

    उनले भने–‘हिजो एमसीसी सम्झौतालाई अगाडि बढाउने काम ओलीले गरेका हुन् । शेरबहादुर देउवाको कांग्रेस र ओली आँखा चिम्लेर पास गर्ने थिए । हामीले ठीक छ साथ दिन्छौँ, बेठीक छ नसुधारेसम्म साथ दिँदैनौँ भनेका थियौं । एमसीसी सम्झौतामा अमेरिकाको सैन्य गठबन्धनको अंग बन्ने कुरा लेखिएको थियो, केपी ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भएको बेलामा । हामीले जोडदार रूपमा माग उठायौं, हुन्न नेपाल असंलग्न परराष्ट्र नीति भएको देश हो । कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन सक्दैन । हामी कसैको पनि सुरक्षा रणनीतिको अंग बन्न सक्दैनौं । हामीले त्यो भन्यौं । त्यसपछि अमेरिकाले त्यो स्वीकार गर्‍यो । एमसीसीले चिठी लेख्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार