बुटवल । बुटवलस्थित तिनाउ इन्टरनेशनल अस्पतालमा खुट्टाको शल्यक्रिया (अप्रेसन) गर्दा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले नाराबाजी गरेका छन्।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११, भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको बायाँ खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएपछि उनका आफन्तहरुले डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै नाराबाजी गरेका हुन्।
मृतकका आफन्तहरुले घटनाको छानविन, दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ समेत गरेका छन । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार साँझ साढे ५ बजेपछि डा.योगेन्द्र अग्रहरि नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । ४ वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएको थियो ।
यस घटनाको बिषयमा अस्पतालले कुनै प्रतिक्रिया जनाएको छैन ।
Leave a Reply