काठमाडौं । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौंमा पुर्याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ ।
गत असार १ गतेको मेलम्ची खोलाको बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुल लगायतका भौतिक संरचनाहरू भत्किएका थिए ।
प्रवक्ता पन्तले भने, ‘हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम–अन्तिम भएको छ, पानी पथान्तरणको वैकल्पिक माध्यमबाट चैतमा पानी ल्याउने योजनाका साथ काम भएको छ, चैतमा पानी ल्याउन सक्छौं भन्ने नै छ ।’
सुरुङको गेग्य्रान हटाउने काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले जानकारी दिए । उनका अनुसार बाढीले ल्याएका ठूला ढुंगाहरू नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गर्ने काम भइरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
Leave a Reply