काठमाडौं । आइतबार साँझ संसदको बहुमतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अनुमोदन गरेपछि सामाजिक सञ्जालहरुमा विरोध र समर्थनमा जुहारी नै चलेको छ ।
आम सर्वसाधरण नेपाली जनताबीच जुहारी चल्नु त सामान्य कुरा हो । सबैले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । कसैले एमसीसी सम्झौता राष्ट्रहितमा रहेको प्रतिक्रिया दिइरहेका छन् भने कसैले यसलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।
एमसीसी अनुमोदन भइसकेको अवस्थामा अब यो राष्ट्रघाती हो कि राष्ट्रहितमा छ भन्ने थाहा पाउन ५ वर्ष कुर्नैपर्छ ।
तर, सबैभन्दा अचम्मको कुरो त के छ भने कुनै बेला एउटै पार्टीभित्र रहेर १० वर्षे जनयुद्ध गरेका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको बीचमा पनि ट्वीटरमा जुहारी नै चलेको छ ।
डा. भट्टराई अहिले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष छन् भने श्रेष्ठ माओवादी केन्द्रको नेता हुन् । भट्टराई पूर्व प्रधानमन्त्री हुन् भने श्रेष्ठ पूर्व उपप्रधानमन्त्री हुन् ।
आइतबार साँझ संसदको बुहमतले एमसीसी अनुमोदन गरे लगत्तै नेता नारायणकाजी श्रेष्ठले ट्वीटरबाट सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गराईएको दावी गरे ।
उनले ट्वीटरमार्फत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेको आरोप लगाएका हुन् ।
उनले एमसीसी अनुमोदन भएको दिनलाई देशभक्त नेपाली जनताले कालो दिनको रुपमा लिने पनि बताए ।
उनले ट्वीटरमा लेखेका छन्–‘अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।’
यद्यपी एमसीसी सम्झौता भने उनकै पार्टीको सहयोगमा संसदबाट अनुमोदन भएको हो । उनले एमसीसीलाई राष्ट्रघाती भनेपनि आफ्नै पार्टीकै कारण एमसीसी अनुमोदन भएकोप्रति भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने आइतबार राती नै एमसीसी पारित पश्चात देश र पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको स्पष्टीकरण दिएको थियो ।
प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले फेसबुकमा एमसीसीबारे लेखेकी थिइन–‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ।’
दाहालले पार्टीको नेतृत्वलाई विश्वास गर्न आग्रहसमेत गरेकी छिन्। एमसीसीको विषयलाई लिएर पार्टीमा भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने गंगाले उल्लेख गरेकी छिन्।
श्रेष्ठको ट्वीटर र फेसबुकमा ‘प्रचण्ड’को सचिवालयकाे धारणाा आउना साथ कुनै बेलाका नजिकका मित्र रहेको डा. बाबुराम भट्टराईले पनि श्रेष्ठलाई काउन्टर जवाफ फर्काइहाले । भट्टराईले एमसीसी पारित हुनु स्वागतयोग्य भएको बताउँदै माओवादीप्रति लक्षित गर्दै उनले पिसाब फेरिसकेपछि दैलो देखेको आरोप लगाए ।
उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् भन्ने कामना पनि गरेका छन् । उनले ट्वीटरमा भनेका छन्–‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ। पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला ! यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् ।’
Leave a Reply