काठमाडौं । रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई कडा चेतावनी दिएको छ । रुसले ती देशहरु माथि नै आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको हो.।
युक्रेनमाथि हमला गरिरहेको रुसले युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए त्यसको विकल्पमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको हो ।
यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ । गएराति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताए ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए । युक्रेनले पनि रुसको विमान खसालेको दावी गरेको छ । तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन ।
यसैबीच रुस युक्रेनसँग वार्ता गर्न तयार भएको बताइएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेको पुष्टि भइसकेको छ । जेलेन्स्कीको फोनपछि रुसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ ।
वार्ताका लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ । रुसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ । रुस यो वार्ता बेलारुसको मिन्स्क सहरमा गर्न चाहन्छ भने युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ ।
यता, युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को रूसविरुद्ध लड्नका लागि एके ४७ राइफल बोकेर सडकमा उत्रिएका छन्।
रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरिरहेका युक्रेनी जनतालाई पूर्व राष्ट्रपति पोरोसेन्कोले राम्रो सन्देश दिएका छन् ।
आफ्नो देशमाथि संकट आइलागेपछि पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।
उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। उनले भनेका छन्–‘सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन् ।’
कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले ‘सधैंभरि’ भन्दै सटिक जवाफ दिएका उनले भनेका छन्–‘पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।’
Leave a Reply