काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा) भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।
काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु भएसँगै चर्काचर्की सुरु भएको हो । डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए ।
तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका थिए ।
यादव सामूहिक र समानुपातिक नेतृत्व प्रणाली छलफलको एजेन्डा बनाउन सहमत भएपछि सुरु भएको बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले बताए ।
यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।
जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश यादवले एमसीसी सम्झौतालगायतका विषयमा शनिबार छलफल हुने बताए । कार्यकारिणी समितिका सबै सदस्यलाई सम्झौताको प्रतिलिपि अध्ययनका लागि दिएको बताउँदै उनले शनिबारको बैठकमा धारणा राखेपछि निर्णय हुने बताए ।