Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अभिनेता पल शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता, १२ वर्षसम्मको जेल सजाय हुनसक्ने

    अभिनेता पल शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता, १२ वर्षसम्मको जेल सजाय हुनसक्ने

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । नायक शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी परेको हाे । गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् ।

    पछिल्लो समय पल र समिक्षाबीचको प्रेम विवाद चुलिँदै गएको छ । विवादपछि उनीहरुबीचको अडियो संवाद समेत सार्वजनिक भइसकेको छ ।



    भर्खरै १७ वर्षमात्र पुगेकी समिक्षालाई नायक पलले विभिन्न प्रलोभनमा देखाएर झण्डै १ वर्ष अघिदेखिको घटना थामथुम पार्दै आएका थिए । तर, आज भने समीक्षाले प्रहरीमा जाहेरी नै दर्ता गराएकी हुन् ।



    जाहेरीमा समीक्षाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ(फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग समीक्षाले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

    समिक्षा र नायक पल म्युजिक भिडियोको सुटिङका क्रममा नजिएका हुन् । आफूले गाएको गीतमध्ये केहीमा आफैले अभिनय गर्दै आएकी समिक्षा र पलबीच करिब १० महिना अगाडि ‘सुर्ति माड्दै’ बोलको गीतको सुटिङका क्रममा मित्रता भएको थियो । त्यति बेला नै गहिरो प्रेममा डुबेकी समिक्षाले पलमाथि ठूलो विश्वास र भरोसा राख्दै उनले जे भन्थे त्यहि गर्दै गइन ।

    तर, केही समयको निकटता पछि पल समिक्षासँग टाढिने प्रयासमा लागे । त्यसपछि निकै छट्पटाएकी समिक्षाले पटक–पटक आफूलाई धोका नदिन पलसँग आग्रह गरिन् । तर, उमेरले १७ मात्र पुगेका समिक्षालाई पलले प्रयोग मात्र गरेको अहिले सार्वजनिक भएका कल रेकर्डहरुबाट पुष्टि हुन्छ ।

    बाहिर सार्वजनिक भएका खबरहरुलाई मान्ने हो भने समिक्षा पलसँग विहे नै गर्न चाहन्थिन । तर, एक पछि अर्को ‘केटी काण्ड’ मा फस्दै आएका पलले आफूले कुनै गल्ती नगरेको र दुबै जनाको सहमतिमा नै गल्ती भएको भन्दै पन्छिन खोजेपछि अन्तत समिक्षा प्रहरीको ढोका ढकढक्याउन बाध्य भएकी हुन् । नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो ।

    हुनत केही समयअघि समिक्षाले पलविरुद्ध प्रहरीमा सप्रमाण उजुरी गर्ने र आफूसँग भएको फोटो/भिडियो सार्वजनिक गरिदिने चेतावनी दिएपछि उनीहबीच दुई वर्षपछि बिहे गर्ने गरी परिवारको रोहबरमा सम्झौता भएको खबर पनि सार्वजनिक भएका थिए । त्यसपछि पनि पल समिक्षासँग टाढिन खोजिरहेका थिए । त्यसैले पनि समिक्षाले आज पलविरुद्ध उजुरी गरेको स्रोत अनलाइन नेपाललाई बतायो ।

    उमेरले नाबालिग (हाल १७ वर्ष) मात्रै पुगेकी समिक्षाले प्रहरीमाम दिएको जाहेरीमा सप्रमाण जुटेको खण्डमा पललाई जेल जानबाट कसैले रोक्न नसक्ने कानूनविद्हरुको दावी छ ।

    नायक पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दिएसँगै यस्तो कसुरका सम्बन्धमा रहेको कानूनी व्यवस्थाबारे चर्चा सुरू भएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार आरोप प्रमाणित भए पललाई १२ वर्षसम्मको जेल सजाय हुनसक्ने देखिन्छ ।

    के छ कानूनमा ?
    नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

    उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

    दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

    यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार