काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् ।
बुधबारको संसद बैठकमा अमरिकी सहयोग परियोजना एमसीसी टेबल नभएपछि आक्रोशित कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको आरोप लगाएका हुन्।
‘प्रचण्डले हामीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसीसी पारित गर्न सघाउने वचन दिनु भएको थियो, तर उहाँ भाग्नु भो,’ बैठकबाट बाहिरिंदै गर्दा कांग्रेसका एक सांसदले भने।
उनीहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसीसी पास गराउने बाचा गरेका थिए। तर अहिले एमसीसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर उनले धोका दिएको उनीहरुको आरोप छ।
एमसीसीबारे निर्णय लिन बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन। एमसीसीमै सहमति जुटाउन भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक समेत बोलाएका छन्।
संसद बैठक पर्सी शुक्रबार दिउँसो १ बजे बस्दैछ। उक्त दिनको बैठकमा भने एमसीसी टेबुल हुने कांग्रेस नेताहरु बताउँछन् ।
Leave a Reply