काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ ।
बुधबारको संसद बैठकमा एमसीसी टेबुल गर्न लागिएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो।प्रदर्शनकारीहरूले माइतीघरमा विरोध प्रदर्शन र कोणसभा गरेका थिए । सो क्षेत्रमा प्रहरीले बाक्लो सुरक्षा घेरा हालेको थियो।
तर, प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । धकेलाधकेलपछि प्रहरीले केही प्रदर्शनकारीहरुलाई भ्यानमा हालेको थियो।
यस्तै, यता एमसीसीकै बिरोधमा नेकपा माओवदी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठनहरुले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर समेत प्रदर्शन गरेका छन् , ‘एमसीसी खारेज गर’, ‘देश बेच्न पाइदैन’, ‘राष्ट्रघाती सम्झौता चाहिंदैन’जस्ता प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन्।
यसअघि भर्खरै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । यस्तै, एमसीसीको बिरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि देशभर नेपाल बन्दको आह्वान गरेको छ ।
Leave a Reply