रामनारायण यादव/ जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज (आइतबार) जनकपुरधाम आउने भएको छन् ।
मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड हलमा मध्याहन १ बजे जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड जनकपुधाम आउन लागेका हुन्।
कार्यक्रमको आयोजना मधेश सरकारको मधेस सहिद प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानको अध्यक्ष एवं प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५४३ जनाका परिवारको तथ्यांक संकलन भएको छ । जसमध्ये आज तत्काल ४० जनालाई १ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराइने उनले बताए ।
‘जनयुद्धका सहिद परिवारलाई ३ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको छ’, उनले भने, ‘अहिले तत्काल प्रत्येक जिल्लाका ५ सहिद परिवारलाई १ लाखको दरले उपलब्ध गराउँछौं । बाँकी सहिद र रकम पछि वितरण हुनेछ उनले भने ।’
प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउँदैछ । आज मधेस सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । संघीय सरकार र अन्य प्रदेशले भने सार्वजनिक विदा दिने गरेको छैन ।