काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ मलेसियामा कामदार पठाउन सिन्डिकेट लादेर अर्बौं कमाउने खेलमा लागेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले त फेसबुकमा स्टाटस लेख्दै मन्त्री श्रेष्ठ र श्रम सचिव एकनारायण अर्यालले सिमित म्यानपावर कम्पनीलाई ‘क’ वर्गमा सूचीकृत गराएर आर्थिक लाभ लिन खोजेको बताइसकेका छन् । म्यानपावरले कामदार पठाएको आधारमा अंक दिनु न्यायोचिन नहुने फेसबुकमार्फत उनले बताएका छन् ।
श्रममन्त्री श्रेष्ठले २५ वटा म्यानपावरको सिन्डिकेट बनाउन कैलाश खड्का मार्फत मलेसियन नागरिक अमिनसँग सेटिङ गरिसकेको स्रोतको भनाई छ । खड्का शुरुदेखि नै म्यानपावरमा विचौलियाका रुपमा चिनिन्छन् । नेपालमा डिल गर्न गाह्रो हुने भएपछि दुबईमा फसेका नेपालीलाई उद्दार गर्ने बहानामा श्रममन्त्री श्रेष्ठ केही सातामै दुवई जाँदैछन् । एक म्यानपावर व्यवसायीका अनुसार मलेसियन नागरिक अमिनसँग अन्तिम सेटिङ मिलाउन खड्कालगायतका म्यानपावरका विचौलियाहरुको योजनामा श्रेष्ठ दुबई जान लागेका हुन् ।
श्रममन्त्री श्रेष्ठले केही समय अघि काठमाडौंकै केही होटलमा अमिसँग वार्ता गरेका थिए । तर, अहिले उक्त डिल फाइन गर्नका लागि श्रेष्ठ दुबई जान लागेका ती व्यवसायीको दावी छ ।
मलेसियामा बार्षिक १ लाखदेखि २ लाखसम्म नेपाली कामदारको माग छ । न्यूनतम १ लाख ५० हजार कामदारबाट प्रतिब्यक्ति २ लाखका दरले म्यानपावरहरुले शुल्क लिंदा पनि ३० अर्ब रुपैयाँ हुन आउँछ । ३० अर्बको कारोबार गर्न २५ वटामात्र म्यानपावरको सिन्डिकेट बनाउँदा एउटा म्यानपावरको भागमा १२ करोड रुपैयाँ बार्षिक आम्दानी हुने देखिन्छ ।
अमिनले २५ वटा म्यानपावरलाई मात्र सिन्डिकेट लागू गराउने निर्णय गरेमा एकमुष्ट २ अर्बसम्म घुस शक्तिकेन्द्रमा बुझाउन समेत तयार रहेको सन्देश खड्कामार्फत् दिएको स्रोत बताउँछ । यसअघि बायोमेट्रिक स्वास्थ्य प्रणालीका नाममा ३९ वटा स्वास्थ्य संस्थालाई मात्र अनुमति दिलाउन पनि उनले आरजु राणाकै नाम लिने गरेका थिए । बायोमेट्रिक स्वास्थ्य प्रणालीका कारण बार्षिक ५ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कतिपय ब्यवसायीलाई पक्राउ गर्दा मुख्य नाइके कैलाश पक्राउ परेका थिएनन् । उनलाई आरजु देउवाले संरक्षण गरेको आरोप लागेको थियो ।
बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका अमिनले अहिले खड्कामार्फत कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अर्बौं लाभ लिन खोजिरहेका छन् । यहि सिन्डिकेट लागू गराउन खड्काकै डिजाइनमा अर्याललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतको दावी छ । सचिव अर्यालसँग कैलाश खड्काको सम्बन्ध तत्कालीन काठमाडौं जिल्लाको सीडीओ हुँदादेखिकै हो । ठगी आरोपमा २०७५ जेठमा फरार भएका उनलाई अर्यालले नै पक्राउ गर्नबाट जोगाई उन्मुक्ति दिने काम गरेका थिए ।
को हुन अमिन ?
अमिन बंगलादेशी मूलका मलेसियन हुन् । बंगलादेशमा अपराधिक गतिबिधि गरेपछि मलेसिया पलायन भएका हुन् अमिन । त्यहाँका पूर्व उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीका भतिजीसँग विवाह गरेका अमिनले बंगलादेशका मन्त्री र कर्मचारीलाई प्रभावमा पारी ३० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउनेगरी सिन्डिकेट गरेका थिए । सिन्डिकेट लागू गराएर कुस्त लाभ लिएका उनी नेपालमा पनि त्यही गर्ने खेलमा छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका उनले अहिले कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अर्बौं लाभ लिने दाउमा छन् ।
अमिन जे जस्ता हर्कत पनि गर्नसक्छन् भन्ने दृष्टान्त मलेसियामा नेपाली कामदारलाई रोक लगाएको बेला उनले नेपाली पासपोर्टमा बंगालीलाई पठाउने काम समेत गरेका थिए । परराष्ट्रमन्त्री सुजाता कोइराला भएको समयमा उनका ज्वाई रुबेल चौधरीमार्फत् हजारौ बंगालीलाई नेपाली पासपोर्टमा मलेसियामा कामदारका रुपमा पठाएको आरोप अमिनमाथि छ । रुबेल चौधरी पनि बंगलादेशी नै भएकाले उनीमार्फत् सेटिङ गरी मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० लागू नहुँदैका पासपोर्ट बंगलादेशीलाई दिइएको थियो । मलेसियामा बंगालीको मृत्यु भए पनि पासपोर्ट नेपाली भएकाले सब भने नेपाल आएको घटना पनि छन् ।
को हुन् कैलाश खड्का ?
टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएको आरोप खड्कामाथि लाग्ने गरेको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनमाथि ३६ संस्थाबाट मासिक दररेट तोकेर शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ । उनले बुढानीलकन्ठ(आरजु देउवा), खुमलटार (प्रचण्ड) र बालकोट_(ओली) लाई बुझाउन भनेर रकम लिने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने–बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए ।
३६ वटै स्वास्थ्य ब्यवसायीले बुझाउनुपथ्र्यो । ३६ स्वास्थ्य ब्यवसायीबाट मासिक २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप उनीमाथि छ । तर, २ बर्षसम्म उठाएको त्यो रकम उनले ती शक्तिकेन्द्रमा नबुझाई आफैंले राखेको कुरा उनको अरब हाराहारीको अहिलेको सम्पत्तिले पुष्टि गरेको छ । उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिकका नाममा सिन्डिकेट लगाउने योजनाकार पनि खड्का नै थिए । बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छान्दा नै करोडौं रकम घुस दिनुपर्छ भनेर संकलन गरेका खड्काले अहिले म्यानपावरहरुसँग डिल गरिरहेका छन् । मलेसिया कामदार पठाउन अब २५ वटा मात्रै म्यानपावरले पाउँछन्, त्यसमा पर्ने हो भने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउन रकम चाहिन्छ भनेर उनले रकम उठाउन सुरु गरेका छन् । कैलाश खड्का मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्ने ३९ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुको स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष पनि हुन् ।
गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा २०७५ जेठ २ मा सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया सुरु भएको थियो । तर कैलाश खड्काको समूहले मलेसियासम्मै सेटिङ गरेकाले ठगी धन्दा रोक्न बिष्टले सकेनन् ।
Leave a Reply