काठमाडौं । प्रहरीले भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा सुकुम्बासीहरुलाई जग्गा वितरण गछौँ, फाराम भर्नुपर्छ भनी पैसा असुल गरीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीलेले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, बिभिन्न ब्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा उनीहरुले आफूलाई भूमि आयोगले खटाएका ब्यक्तिहरु भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्त गर्न जनही ५० हजार रुपैयाँको दरले माग गरी फारम भर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Leave a Reply