एजेन्सी । क्यानडाको राजधानीमा आपत्काल घोषणा गरिएको छ । एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन नियन्त्रणबाहिर गएपछि राजधानीका सहरमा आपत्काल घोषणा गरिएको हो ।
ओटावाका मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताउँदै चालकहरूको अवरोधमाझ राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको हो । ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो ।
क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा ‘असंवेदनशील व्यवहार’ गरेको बताए । प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ‘पार्टीजस्तो गरेको’ आरोप लगाए।
उनले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा ‘लडाई हारिरहेको’ बताए। ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन् ।
मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन् । तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ ।
Leave a Reply