Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अपिल गरेको छ ।

बुधबार काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

त्यसक्रममा एकजना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरूको पालना गर्न, गराउन र वैकल्पिक उपाय अपनाएर परीक्षा सञ्चालन गर्न आयोगले सरकार, विश्वविद्यालय र सबै निकायलाई आग्रह गरेको छ ।

सो घटनाबारे जानकारी पाएपछि आयोगको टोली अनुगमन गर्न समेत पुगेको प्रवक्ता डा।टीकाराम पोखरेलले बताए । त्यस्तै, आयोगमा उजुरी समेत परेको प्रवक्ता पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अनुगमनका क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बुझिएको छ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूले हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग राखेको अनुगमनबाट पाइएको छ । यस सम्बन्धमा आयोगमा निवेदन समेत प्राप्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077