बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ।
सुर्नया–६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
उनले भने, ‘नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएका हौं, अहिले नै उनको संलग्नता हो भन्न सकिन्न, उनीमाथि थप अनुसन्धान गर्दै छौँ।’
गत मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो।
यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थी प्रहरी नियन्त्रणमै छन्। हरिशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको हो।
Leave a Reply