Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • राष्ट्रपति भण्डारीको सन्देश-‘पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गर्दै अघि बढौं’

    राष्ट्रपति भण्डारीको सन्देश-‘पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गर्दै अघि बढौं’

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन्।

    नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३ सयौँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।



    ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु,’ उको सन्देशमा उल्लेख छ।



    देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाइ छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अङ्कितसमेत रहेको राष्ट्रपतिले स्मरण गरेकी छन्।

    नेपाल एकीकरणमार्फत यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमिसमेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

    महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार