काठमाडौं । लागूऔषधसम्बन्धी आरोपमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।
लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ । पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । अनुसन्धान अधिकृतहरुले अनुसन्धान गरिरहेको उनकले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ परेका थिए ।
पुस १४ गते साँझ करिब ७ बजेतिर उनीहरुलाई सिर्जनाचोकबाट प्रहरीले पक्राउ गरेको थियो ।
Leave a Reply