नयाँ दिल्ली । पछिल्लो समय भारतभर कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । जसका कारण सर्वसाधारणदेखि बलिउड स्टारहरू पनि संक्रमित भएका छन् । कोरोनाकै कारण कैयौं ठूला कलाकारहरु संक्रमणको चपेटामा परेको लगातार खबरहरु आइरहेका छन् । यस्तो अवस्थामा केही समय अगाडि फिल्म ‘बाहुबली’मा साउथ इन्डस्ट्रीका चर्चित दिग्गज अभिनेता सत्यराज कटप्पाको नामबाट कोभिड पोजिटिभ भएको खबर पनि बाहिर आएको थियो । तर अहिले उनको स्वास्थ्य बिग्रिएको खबर आएको छ ।
भारतीय संचारमाध्यम जी न्युजका अनुसार एक सुटिङका क्रममा सत्यराजलाई कोरोना संक्रमण भएको थियो तर उनी सामान्य नै थिए । रिपोर्ट आएपछि उनी होम आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको बताइएको छ । केही दिनअघि हल्का लक्षण देखिएपछि उनको कोभिड परीक्षण गरिएको थियो । त्यसपछि उनी कोरोना संक्रमित भेटिए । उनको स्वास्थ्यमा सुधार नआएपछि जनवरी ७ शुक्रबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।
सत्यराजको स्वास्थ्यबारे आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन तर रिपोर्टलाई विश्वास गर्ने हो भने उनमा कोरोनाको गम्भीर लक्षण देखिएको छ । जसका कारण स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पताल लगिएको हो ।
सत्यराजलाई तमिल फिल्मका सुपरस्टार भनिन्छ । उनले आफ्नो फिल्मी करियर सन् १९७८ मा सुरु गरेका थिए । त्यसपछि उनले धेरै फिल्ममा काम गरे तर फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिकाले उनलाई देशभर लोकप्रिय बनाएको थियो । फिल्म ‘चेन्नई एक्सप्रेस’ मा अभिनेता सत्यराजले दीपिकाका बुवा र एक डनको भूमिका निभाएका थिए ।
Leave a Reply