काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा कहिल्यै गल्ती नस्वीकार्ने र सबैलाई हेप्ने प्रवृत्ति रहेको बताएका छन्।
शनिबार पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नै पार्टीभित्र सबैलाई अनुदार गरेपछि नेकपा विभाजित भएको र आफूले पनि नयाँ पार्टी बनाउन बाध्य भएको बताए ।
यस्तै, अध्यक्ष नेपालले ओलीका लागि आफू भन्दा राप्रपा र महन्थ ठाकुर प्यारो भएको समेत बताए । 'अहिले तपाईँहरुलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन् । विदेशीहरु प्यारा छन्', कार्यक्रममा नेपालले भने ।
सत्ताबाट बाहिरिनु परेको पीडाले बालकोटको बार्दलीमा बसेर ओलीले तथानाम गाली गरेको नेपालको भनाइ छ । ‘त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको हो, पीडा धेरै भईसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ’, नेपालले भने, ‘तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताए ।