काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।
यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
Leave a Reply