Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृह मन्त्रालयमा कर्मचारीको अभाव, प्रत्यक्ष मारमा सेवाग्राही

    गृह मन्त्रालयमा कर्मचारीको अभाव, प्रत्यक्ष मारमा सेवाग्राही

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्।

    कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको छ। तर सो मन्त्रालयले कर्मचारी पठाउन नसकेको गृहका उच्च अधिकारीहरू बताउँछन्। गृह स्रोतका अनुसार खासगरी शाखा अधिकृत र नायब सुब्बासरहका कर्मचारीको अभाव देशभर खड्किएको छ।



    संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय दरबन्दी छन्। कुल दरबन्दीमध्ये १ हजार २ सयभन्दा बढी दरबन्दी रिक्त रहेको गृह स्रोतको भनाइ छ। मन्त्रालयका अनुसार शाखा अधिकृत तहका कर्मचारीका दरबन्दी ५ सय ३९ छन्। तीमध्ये १ सय २० दरबन्दी रिक्त रहेको जनाइएको छ। यसैगरी १ हजार ८ सय नायब सुब्बासरहका दरबन्दीमध्ये करिब ३ सय रिक्त छन्।



    गृह प्रवक्ता प्रदीप कोइरालाले गृहमा ठूलो संख्यामा कर्मचारी अभाव भएको बताए। रिक्त कर्मचारी परिपूर्ति गर्न संघीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराएको बताए। खाली दरबन्दी विवरण लोकसेवा आयोगमा समेत पठाइसकिएको उनको भनाइ छ। ‘मन्त्रालयमातहतका सेवामा ढिलासुस्ती नहोस्, बरु थप प्रभावकारी बनाउन सकियोस् भनेर दरबन्दीअनुसार कर्मचारी पठाउन आग्रह गरेका हाैँ,’ प्रवक्ता कोइरालाले भने। मन्त्रालयका अर्का एक कर्मचारी उपत्यकाबाहिर सबैतिर कर्मचारीको अभाव रहेको बताउँछन्। त्यसमा पनि दुर्गम हिमाली जिल्ला र प्रदेशमा कर्मचारीको अभाव झनै खड्किएको उनको भनाइ छ।

    मन्त्रालयका अनुसार सरकारले ई–पासपोर्टको व्यवस्था लागु गरेपछि राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीको भिड ह्वात्तै बढेको छ। ई–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर लिनुपर्ने बाध्यता सरकारले बनाएको छ। यसकारण देशभर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ। गृहले देशका ७७ वटै जिल्ला प्रशासनमार्फत राष्ट्रिय परिचयपत्र दिन सक्ने व्यवस्था गरेको छ।

    राष्ट्रिय परिचयपत्र वितरणका लागि गृहका कर्मचारीले सहजीकरणको काम गर्दै आएका छन्। त्यस काममा कर्मचारीको अभाव भएको गृह स्रोतको भनाइ छ। गृहका एक कर्मचारीले भने, ‘केही ठाउँमा राष्ट्रिय परिचयपत्र लिन बिहान ४ बजेदेखि नै लाइन लाग्ने गरेको देखियो।’ राष्ट्रिय परिचयपत्रबाहेक गृहबाट प्रदान गरिने नागरिकतालगायत अन्य सेवामा पनि कर्मचारीको अभाव भएकाले सेवा प्रवाह छिटोछरितो हुन नसकेको गृहकै कर्मचारीहरू बताउँछन्। नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार