एजेन्सी । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ ।
चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ ।
बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ । उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए । सो खानीबाट बार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन् । ‘घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,’ उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न् ।
स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । ‘हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,’ उनले भने ।
घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २०० जना परिचालित भएको पनि उनले जानकारी दिए । खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीहरुको प्रयोग गरेका छन् ।- एएएफपी
Leave a Reply