Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रक्षामन्त्रीबाट राजीनामा दिँदै मिनेन्द्रले भने- विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्

    रक्षामन्त्रीबाट राजीनामा दिँदै मिनेन्द्रले भने- विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस्

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न सुझाव दिएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए । रिजालले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।



    नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रहेका नेता रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनको महामन्त्री पदमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरे । मन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए।



    ‘नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु’, डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

    ‘अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न’, पत्रकार सम्मेलनमा डा रिजालले भने, ‘आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पूँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।’

    डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रिय कार्यसमितिमा छन् । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति सङ्केत गर्दै उनले भने, ‘राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ ।’

    रिजालले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताए । विसं २०२५ सालदेखि नै विपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उनले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

    अहिले नै आगामी दिनमा कसरी जाने भनेर निर्णयमा भने पुगिनसकेको रिजालको भनाइ छ । रिजालले पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समिश्रणको टिम बनेको बताउँदै बढी युवाको अनुहार आएको, त्यसले सबै कांग्रेस र पाको नेतालाई एउटा सन्देश दिएको बताए । ‘त्यसलाई सदाशयताका साथ लिन सके विपीको पार्टीलाई ऊर्जावान बनाउन सकिन्छ’, उनको भनाइ थियो । उनले अढाई महिनाको रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार