एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाईटेडविरुद्ध म्यानचेष्टर सिटीले शानदार जित निकालेको छ। मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७–० अन्तरले पराजित गरेको हो।
सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १–१ गोल गरे ।
खेलको पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल थपेको हो। डिफेन्डिङ च्याम्पियन सिटीको यो सिजनकै सबैभन्दा ठूलो जित हो।
खेलको आठौँ मिनेटमा फिल फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १३औँ मिनेटमा ज्याकले गोल गर्दा सिटीले दोहोरो अग्रता बनायो। ३२औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३–० अन्तरको अग्रता बनायो।
रियादको गोलमा ४९ औं मिनेटमा सिटीले चौथो अग्रता बनायो। ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गरे । स्टोनेसले ७४ औं मिनेटमा आधा दर्जन गोल पुर्याए। नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७–० अन्तरको फराकिलो जित सुनिश्चित गरेको थियो।
जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ। १ खेल कम खेलेको लिभरपुल ३७ अंक सहित दोस्रो स्थानमा छ। पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ।
Leave a Reply