काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। युवामाझ लोकप्रिय नेता थापाले नेता कृष्णप्रसाद सिटौला समूह त्याग्दै शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिए।
गगनले आफूले कोइराला प्यानल रोज्नुको कारण खुलाएका छन्। उनले युवालाई जोड्ने संकल्पका साथ सभापतिमा कोइरालाले उम्मेदवारी दिएकाले आफू सो प्यानलमा संलग्न भएको बताए।
आइतवार साँझ कोइराला प्यानलको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूभन्दा पनि नौजवानलाई जोड्नका लागि कोइरालालाई अबको सभापति बनाउनुपर्ने बताएका हुन्।
‘शेखर कोइरालाले एकपटक पार्टीको सभापति हुन्छु र भावी पुस्तालाई छाड्छु भनेर आउनुभएको छ,’ उनले भने, ‘हामीभन्दा पनि नौजवान साथीहरूलाई जोड्छु भन्ने संकल्पका साथ आउनुभएको छ, त्यही भएर हामी यहाँ आएका छौं।’
उनले कोइरालालाई अनुरोध गर्दै भने, ‘तपाईं निर्वाचित हुनुहुन्छ र निर्वाचित भएको दिनबाट गुटको होइन, सिंगो कांग्रेसको सभापति बन्नुपर्छ ।’ गगनले निर्वाचनमा कांग्रेस एक्लै लड्ने हो भने ९ लाख क्रियाशील सदस्यबाहेक १०–१२ अरू थप्नुपर्ने बताए। बाहिरबाट हेर्दा कांग्रेसमा आउँआउँ लाग्ने बनाउनुपर्नेमा उनले जोड दिए।