काठमाडौं । नेकपा एमालेले आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा आफूहरुको अवरोध कायमै रहने जनाएको छ । संसदमा आफूहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने एमालेको भनाइ छ।
बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने बताए ।
ज्ञवालीले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको भन्दै अबको तीन महिनामा पार्टीले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताए ।
यस्तै, फरक प्रसंगमा नेता ज्ञवालीले सर्वोच्च अदालतको विवादबारे संक्षिप्त टिप्पणी गर्दै अदालतमा भइरहेको आन्दोलनलाई न्यायाधीशहरुको दुई गुटबीचको झगडाको संज्ञा दिए।
उनले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा एमाले नरहेको प्रष्ट पारे ।
सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको भन्दै ज्ञवालीले प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीश र कानुन व्यवसायीले गरेको आन्दोलनका एजेन्डाबाट न्यायालयको सुधार नहुने बताए ।