Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन लगायतका युवा नेताहरुको दबाबमा पौडेल, यसरी पुगेका थिए सिटौला निवासमा

काठमाडौँ । बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे ।

बैठकमा केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको घर पुगे ।

स्रोतका अनुसार सिटौला निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर, सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

सहयोगका लागि सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको स्रोतको भनाइ छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैनन्। यस्तो अवस्थामा सिटौलाले १३ औं महाधिवेशन झैं यसपटक पनि शेरबहादुर देउवासँग मिलेर जान सक्ने बुझिएको छ।

यता, पौडेल पक्षका युवा नेता गगन थापा भने जसरी पनि यो पटक सिटौलालाई आफ्नो समूहमा ल्याउने पक्षमा छन् । स्रोतका अनुसार थापालगायतका युवा नेताहरुको आग्रहमा पौडेल सिटौलालाई फकाउन उनको निवास गएका थिए ।

उता पौडेल सिटौला निवास गएपछि बत्तीसपुतलीमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। बैठकमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।

बत्तीसपुतली बैठकपछि अब चाक्सीबारीस्थित सिंहको निवासमा दिउँसो पौडेल, प्रकाशमान सिंह, शशांक र शेखर कोइरालाबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ। यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने सहभागी नेताहरुको भनाइ छ।

पछिल्लो समय इतर समूहका अन्या नेताहरुले प्रमुख शीर्ष चार नेताहरुलाई सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै आएका छन्। महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077