काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएको दाबी गरेका छन्।
सोमबार बिहान प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर सभापति देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएको दाबी गरे।
यस्तै, प्रधानमन्त्री देउवाले पार्टीको आसन्न १४ औं महाधिवेशनमा फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका छन् ।
६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् ।
एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।
देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने ।
कुराकानीमा सभापति देउवाले सबै नेता कार्याकर्ताहरुलाई अन्तिमपल्ट आफूलाई सहयोग गर्न आग्रह समेत गरे ।
Leave a Reply