Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘कमल थापालाई जितिन्छ भन्नेमा ढुक्क छु’

काठमाडौं । अध्यक्षमा कमल थापासँग चुनाव लड्ने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले आफूले चुनाव जित्ने दावी गरेका छन् । झापाबाट निर्वाचित राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङ्देन पार्टीका महामन्त्री भइसकेका नेता हुन् ।

एक अनलाईनसँग अन्तर्वार्ता दिंदै नेता लिङ्देनले आफूले चुनाव जित्ने दावी गर्दै अझै पनि अन्तिम घडीमा थापाले आफूलाई छाडिदिएर सर्वसम्मत अध्यक्ष बन्ने आशा रहेको बताए ।

आफूले कसैको उक्साहटमा पनि उम्मेदवारी नदिएको बताएका उनले भने–‘म उक्साहटमा पर्ने मान्छे हो कि हैन भन्ने कुरा त कमल थापा स्वयंलाई थाहा छ नि । म कसैले उकास्दा उकास्ने मान्छे हैन । अनिवार्य कदमका रुपमा हामीले यो निर्णय लिएका हौं । याे निर्णय नगर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी दुर्घटनातर्फ गइराखेको थियो, त्यसबाट बचाउन हामीले यो कदम चालेका हौं ।’

नेपालगञ्जका मेयर एवं अर्का नेता धवलशमशेर जबराको समर्थन लिएर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन जनाएको उनको दावी छ ।

अध्यक्ष थापाले पार्टी कार्यालय र सचिवालय पूर्णरुपमा कब्जा गरेको आरोप लगाएका उनले निर्वाचन आयोगले गर्ने काम सचिवालयले गरिरहेको दावी गरे । उनले भने–‘जिल्ला जिल्लाबाट मतदाता नामावली संकलन निर्वाचन समितिले गर्नुपर्ने हो, त्यो काम सचिवालयले गरिराखेको छ । सचिवालयमा उहाँ पक्षीय मान्छेहरुमात्रै क्रियाशील हुनुहुन्छ । अहिले पछिल्लो दिनमा आएर ५ प्रतिशत मनोनित गर्ने काम कुनै परामर्शविना गर्नुभयो ।’

अध्यक्षमा जितिन्छ भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्–‘यसमा कुनै शंकै छैन । हामी प्रारम्भदेखि नै ढुक्क छौं । यो राप्रपाका कार्यकर्ताका लागि अनिवार्य आवश्यकता हो । पार्टी कार्यकर्ताले कि त राप्रपाको विघटन र समाप्ति रोज्नुपर्यो, कि त यो विकल्प रोज्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077