Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन चिनियाँ जेलका सुरक्षाकर्मीलाई छक्याएर भाग्ने उत्तर कोरियाली नागरिक

एजेन्सी। चीनको कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका छन्।

चिनियाँ प्रहरीले जारी गरेको  विज्ञप्तिमा चिनियाँ नाम जू श्यान्जिएन उल्लेख गरिएका ती ३९ वर्षीय पुरुष आइतवार पक्राउ परेका जनाइएको छ।

उनी सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन गएका थिए। उनलाई अवैधानिक रूपमा चीन प्रवेश गरेको र चोरी तथा लुटपाट गरेको अभियोगमा  अदालतले दोषी ठहर गरेको थियो।

जिलिनस्थित एउटा जेलबाट भागेपछि उनलाई पक्राउ गर्न सूचना उपलब्ध गराउने व्यक्तिलाई ठूलो पुरस्कार दिने घोषणा गरिएको थियो।

सरकारले सञ्चालन गरेको बेङ्जिङ न्यूजले सार्वजनिक गरेको फुटेजमा अक्टोबर १९ को राति उनी जेलको छतमा गएको र उफ्रेर विद्युतीय बार नाघेको देख्न सकिन्छ। भिडिओमा जेलका सुरक्षार्थ खटिएका अधिकारीहरूले उनलाई पछ्याउन खोजेको देख्न सकिन्छ। उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो।

सरकारी निकायहरूले ती भागेका व्यक्तिसम्म पुग्न सकिने सूचना दिनेका लागि पुरस्कार राशि बढाएर १,०९,००० अमेरिकी डलर दिने घोषणा गरेका थिए।

जूलाई सुरुमा गैरकानुनी रूपमा चीनमा प्रवेश गरेको र उत्तर कोरियाबाट भागेपछि चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा जेल सजाय गरिएको थियो।अदालतको दस्ताबेजअनुसार सन् २०१३ मा उनी उत्तर कोरिया र चीनलाई छुट्ट्याउने नदी तरेका थिए र नजिकैका गाउँबाट पैसा, मोबाइल फोन र कपडा चोरेका थिए।

उनलाई चिन्ने एक वृद्धालाई जूले चक्कु प्रहार गरेका थिए। प्रहरीले पक्राउ गर्नुअघि उनले ट्याक्सी चढेर भाग्ने प्रयत्न गरेका थिए। जूले नौ वर्ष लामो जेल सजाय काटिसकेका थिए। उनको सजाय पूरा हुन दुई वर्ष मात्र बाँकी थियो।

सन् १९५१ को शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय महासन्धिको एउटा पक्ष भए पनि चीनले उत्तर कोरियालीहरूलाई जबरजस्ती सुपुर्दगी गर्ने गरेको छ। -बिबिसीबाट साभार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077