Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्न सक्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रजातन्त्र, वर्तमान संविधान र व्यवस्थाको आधारभूत मूल्यमान्यताबाट बरालिएको एमालेलाई कांग्रेसले ठीक पार्न सक्नुपर्ने बताएका छन् ।

हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा कांग्रेसले नै ल्याएको भन्दै उनले बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्ने बताए ।

काठमाडौंको १४ औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेता थापाले भने–‘‘चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, अब देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अगाडि आउँछ, त्यो शक्तिको रुपमा आउँछ ।’

नेता थापाले १४ औँ महाधिवेशनबाट बरालिएको एमालेलाई ठीक गर्न सक्ने नेतृत्व चुन्नुपर्ने पनि बताए । उनले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरे । ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन । त्यहाँ बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्नँ भनेर उठेको मान्छे जम्मा एक जना हो–भीम रावल ।’

‘एमालेसँग जुध्दै गर्दा कांग्रेसको कर्तव्य नै हो, हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएको जस्तै, बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्छ । नचाहिने कुरा गर्‍यो भने हप्काउने तागत राख्नुपर्छ । तथ्यहीन कुरा गर्‍यो भने तथ्यका आधारमा बोलेर कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’–उनले थप भने ।

बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसले नै गर्ने भन्दै उनले भने–‘एमाले हाम्रो शत्रु होइन । तर, बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम कांग्रेसको हो । चितवनबाट एमाले बरालिएको छ । त्यो बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याउने तागत कांग्रेसले आफ्नो अधिवेशनबाट लिएर आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077